चलचित्रमा आफ्नो अभिनय र वास्तविक जीवनमा आफ्नो स्पष्ट बोल्ने शैलीका कारण चर्चित अभिनेत्री जया बच्चन आजवाट ७६ वर्षमा प्रवेश गरेकी छिन् ।
बिग बि अर्थात अभिताभ बच्चनकी श्रीमती जयालाई सन् १९९२ मा पद्मश्री अवार्डबाट सम्मानित गरिएको थियो । १५ वर्षको उमेरमा फिल्ममा प्रवेश गरेकी जया बच्चन कहिल्यै पनि अभिनेत्री बन्न चाहेकी थिइनन । खासमा जया सानैदेखि सेनामा भर्ना हुन चाहन्थिन् ।
त्यतिबेला सेना भर्तीमा महिलालाई नर्सको मात्रै जागिर दिइन्थ्यो तर जया नर्स बन्न चाहँदैन थिइन् । उनी लडाकु सेनाको एक हिस्सा हुन चाहेकी थिइन । जया आफैंले नातिनी नव्या नवेलीको पोडकास्टमा यो कथा सुनाएकी हुन्।
उनी भन्छिन् कि त्यतिबेला महिलालाई हेरचाह गर्न राम्रो मानिन्थ्यो। सन् २००४ मा जया राजनीतिमा प्रवेश गरिन् र सफल पनि भइन् । जया विगत २० वर्ष देखि राजनीतिमा सक्रिय छिन् । चार पटकको राज्यसभा सांसद जया बच्चन र उनका श्रीमान् अमिताभ बच्चनको सम्पति १५७८ करोड भारतीय रुपैयाँ बराबर रहेको छ ।
‘सम्बन्धमा म तिम्रो बुवा जस्तो देखिन्छु, मेरो नाम शहन शाह हो,’ यो संवाद तपाई सबैले कुनै न कुनै बेला सुन्नु भएको होला । यो संवाद सन् १९८८ मा रिलिज भएको फिल्म ‘शहन शाह’ को हो । ‘शहेनशाह’ अमिताभको हिट फिल्म मध्ये एक हो ।
तर, यो फिल्मको सफलतामा जया बच्चनको ठूलो भूमिका छ भन्ने कुरा कमैलाई थाहा होला । वास्तवमा फिल्म ‘शहेनशाह’ को कथा जया बच्चनले नै लेखेकी हुन् । यो फिल्मले अमिताभलाई नयाँ पहिचान दिएको छ । आज पनि उनका फ्यानहरुले उनलाई यही नामले बोलाउन रुचाउँछन् ।