जनकपुरधाम । जनकपुरको रामानन्दचौकमा रहेको होटेल होलि डे एण्ड गेष्ट हाउसमा महिला र पुरुष मृत अवस्थामा भेटिएको छ । महोत्तरीको पिपरा गाउँपालिका–३ का ३१ वर्षीय हितेन्द्र पासवान र माइत पिपरा नै भएका महोत्तरीको लोहारपट्टी नगरपालिका ४ खट्टाका अन्दाजी २५ वर्षीया प्रियंका कापर झुन्डिएको अवस्थामा भेटिएका हुन् । मंगलवार बिहान ११ बजेतिर कोठा नम्बर २०५ मा दुबैजना पासोमा झुन्डिएर मृत अवस्थामा भेटिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए ।
कोठा भित्र महिलाका अढाई वर्षीया छोरी रोइरहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा सलको पासोमा झुन्डिएका थिए । धनुषाको प्रहरी टोली घटनास्थलमा पुगेर ढोका फोडेर बालिकालाई बाहिर निकालेको छ । दुवैजना चार दिनदेखि होटेलमा थिए । पुरूषको चार र महिलाको १ सन्तान छन् । दुवैजनाको अनैतिक सम्बन्ध रहेको आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।