काठमाडौं । अहिलेको गठबन्धन भत्काउनका लागि प्रमुख पतिपक्षी नेपाली कांग्रेसले दुई वटा राजनीतिक स्टेप चलेको छ । पहिलो एमालेसँगको गठबन्धन र दोस्रो एमाले, माओवादी र रास्वपा इतर गठबन्धन । तर कांग्रेसका लागि पहिलो र दोस्रो दुबै विकल्प फलामको चिउरा चपाउनु सरह गाह्रो हुने देखिन्छ । परन्तु कांग्रेस भने नयाँ सत्ता समीकरणमा अविश्वास बढाउँदै सत्तामा फर्किने बाटो ढुकिरहेको छ । कांग्रेसले आफुलाई सत्तामा कमब्याक गराउन एमालेसँगकोे बिकल्पलाई बढी नै बल गरेको छ । सभापति देउवा माधव नेपाललाई अगाडि सारेर वैकल्पिक गठबन्धनको पक्षमा देखिए पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा डा. शेखर कोइराला, रमेश लेखकसहितका अधिकांश नेताहरु एमालेसँग मिलेर नयाँ सरकार बनाउनुपर्ने पक्षमा उभिएका छन् । त्यस कारण एमाले र कांग्रेसका दोस्रो तहका नेताहरुबीच निरन्तर संवाद चलिरहेको छ ।
कांग्रेस नेता डा. शेखर कोइराला बुधबार बालकोट पुगे । उनले ओलीलाई प्रधानमन्त्री बन्न आग्रह गरेका थिए । शेखरले ओलीलाई भनेका थिए, पहिलो चरणमा तपाई प्रधानमन्त्री बन्नुहोस् । त्यसपछि दोस्रो चरणमा म प्रधानमन्त्री बन्छु । हामी दुई ठूला पार्टी मिलेर अगाडी बढौ स्रोतले भन्यो । त्यसो त पछिल्ला दिनहरुमा ओली पनि कांग्रेस सभापति शेरबहादुर देउवासँग नरम हुँदै गइरहेको राजनीतिक घटनाक्रमले देखाउँछ । समीकरण बदलिने विषयको चर्चा उच्चस्तरमै पुगिसकेको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा दाबी गर्छन् ।
त्यस्तै नयाँ सत्ता गठबन्धन बनाउन फागुन २१ गते प्रचण्डले गठबन्धन तोडेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालदेखि रवि लामिछानेसम्मलाई प्रधानमन्त्रीको अफर गरेको कांग्रेसले अहिले पनि एमालेले आनाकानी गरे माधवलाई प्रधानमन्त्री बनाउने गरि वैकल्पिक गठबन्धनको कसरत पनि चलाईरहेको छ । प्रतिनिधिसभामा १० सीट रहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि कांग्रेस सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा छन् ।
देउवाले सुरुमै एमाले, माओवादी र रास्वपालाई बाहिर राखेर माधव नेपाललाई प्रधानमन्त्री बनाउने अफर गरेका थिए ।
त्यसका लगि कांग्रेसको ८८, राप्रपाको १४, जसपाको १२, एकीकृत समाजवादीको १०, जनमतको ६, नागरिक उन्मुक्ति र लोसपाका ४/४ जोड्दा १३८ सांसद पुग्थ्यो । यो सरकार गठनको लागि आवश्यक संख्या हो । यो गठबन्धन बनाउन सके राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीसहित केही स्वतन्त्र सांसदलाई पनि तान्न सकिने कांग्रेसको हिसाब छ । नेकपा एस अहिलेको गठबन्धनबाट बाहिरियो भने उपेन्द्र यादव नेतृत्वको जसपा पनि आउने कांग्रेसको बुझाइ छ ।
त्यस्तै एमालेसँग मिल्नुपर्छ भन्दै कांग्रेस नेताहरुले संवाद थालेपछि प्रचण्डले पनि नयाँ तुरुप फ्याँकेको स्रोत बताउँछ । माधव नेपाललाई प्रधानमन्त्री बनाउने र त्यसो हुँदा कांग्रेसले पनि स्वीकार्ने प्रचण्डको बुझाई छ । प्रचण्डले गठबन्धन तोडेपछि माधव नेपाललाई प्रधानमन्त्रीको रुपमा अगाडि बढ्न आफूहरुले समर्थन गर्ने प्रस्ताव अघि सारेको कांग्रेसका नेताहरु बताउँछन् ।