काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । निर्वाचन आयोगले दलको न्युनतम सर्त र प्रक्रिया समेत पूरा नगरी राजनीतिक आग्रहका आधारमा दल विभाजित गरिदिएको यादवको दाबी छ ।
सर्वोच्च अदालतले यादवको रिटलाई आगामी जेठ २ गते पेसी तोकेको छ । उपेन्द्र यादव स्वास्थ्यमन्त्रीको हैसियतमा अमेरिका भ्रमणमा रहेका बेला पार्टीमा दोस्रो तहका नेता अशोक राईले आफ्नो नेतृत्वमा सात सांसद लिएर निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए ।
निवेदन दिएको भोलिपल्ट नै आयोगले राई नेतृत्वको समूहलाई जसपा नामसहित दलीय मान्यता प्रदान गरेको थियो । कानुन नै नभएको समयमा दल विभाजन हुन नसक्ने बताएका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अर्को दिन दल दर्ताको प्रमाणपत्र दिएका थिए ।
राजनीतिक दलसम्बन्धी नियमावलीका आधारमा नयाँ दललाई मान्यता दिएको निर्वाचन आयोगले जनाएको छ । ऐन नै नभएका बेला नियमावली देखाएर दल विभाजन गर्न नपाइने भन्दै आएका यादवले त्यसविरुद्ध सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।