काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई एमालेको सम्बन्धमा बोल्दा र टिप्पणी गर्दा याद राख्न चेतावनी दिएका छन् । बुधबार एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले बोल्दा र टिप्पणी गर्दा याद राख्न चेतावनी दिएका हुन् । कांग्रेसले गिरीबन्धु टी–स्टेटको जग्गा हिनामिना गर्ने एमाले अध्यक्ष ओलीलाई समेत कारबाही गर्नुपर्ने माग उठाउने तयारी गरेपछि फायर बनेका ओलीले ‘गिरीबन्धु टी–स्टेटमा नेपाली कांग्रेसले एकपल्ट ५१ बिगाहा र अर्कोपल्ट १९ बिगाहा गरी ७० बिगाहा जमिन कमिसन खाएर सट्टा पट्टा गर्ने नाममा विक्री गर्न दिएको दाबी गरे । अध्यक्ष ओलीले भने, ‘पछि अदालतले नियम बनाएर मात्रै यस्ता काम अघि बढाउनु भनेपछि हामीले नियम बनाएका हौ, त्यो कार्यान्वयन पनि भएको छैन । त्यो नियममा विभिन्न सर्त राखिएको छ ।’
त्यस्तै एमाले कांग्रेसको बदमासी टुलुटुलु हेरेर नबस्ने ओलीको भनाइ छ । उनले कांग्रेसले पाखुरा र मसल देखाउँदैमा एमाले नलत्रने भन्दै यस्तै रहे कांग्रेसलाई बोल्न नदिने अवस्था आउने समेत बताए । ‘नेपाली कांग्रेसले गरेका बदमासीका बारेमा अव हामी कुरा उठाउँछौँ । अव कांग्रेसको बकवास सुन्न तयार छैनौ’ , ओलीले भने, ‘यतै टोकेको छ उतै भुकेको छ के तरिका हो यो हामी सुनिरहनुपर्ने, कांग्रेस कराइरहने पनि हुन्छ संसद् ’ उनले गरिमामय संसद् र देशको बहुमूल्य समय खेर फाल्न नहुने भन्दै भोलिबाट आफूहरू संसद् सुचारु गर्ने बताए । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले कांग्रेसले गृहमन्त्री रवि लामिछानेसहितका सहकारी ठगीमा मुछिएकालाई छानबिनको माग गर्दै संसद् अवरोध गरेकोमा कांग्रेको निन्दा समेत गरे ।