शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस भएको छ । तर, विद्यालयको पठन पाठन भने पूर्णरुपमा बन्द नगरी अनलाइन माध्यमबाट पढाउनुपर्नेछ । र, परीक्षाहरु पनि सुचारु हुनुपर्ने कोभिड – १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को प्रस्ताव छ ।
पछिल्लो समय देशभर कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि पुनः कडाइ गरिनुपर्ने आवाज उठ्दै आएको छ भने विद्यालयहरुमा विद्यार्थी धमाधम संक्रमित भएपछि स्वास्थ्य मन्त्रालयले नै बन्द गरिनुपर्ने बताउँदै आएको छ । तर, सरोकारवालाले स्वास्थ्य मापदण्डलाई पालना गरेर विद्यालय खोल्नुपर्ने अडान लिँदै आएपछि सरकारले निर्णयमा समेत अलमल गर्दै आएको थियो ।
सीसीएमसीले गरेको सिफारिस भने मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्र लागू हुनेछ ।
अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने, परीक्षा नरोकिने
सीसीएमसीका सचिव खगराज बरालले शैक्षिक संस्थाहरु पूर्णरुपमा बन्द हुने अर्थमा यो सिफारिसलाई बुझ्न नमिल्ने बताए । विद्यालयहरूले अनलाइन कक्षाहरू सञ्चालन गर्नुपर्ने र परीक्षाहरु पनि नरोकिने उनले बताए ।
शैक्षिक संस्थाहरु पूर्णरुपमा बन्द गर्दा मेडिकल कलेजका विद्यार्थीलाई पर्न सक्ने असरका विषयमा पनि सीसीएमसीले ध्यान दिएको उनले बताए । उनका अनुसार शनिबारको बैठकमा खासगरी स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्डसम्बन्धी प्रस्तावमाथि छलफल भएको छ ।
याे प्रस्तावलाई करेक्सन गरेर सीसीएमसीले क्याबिनेटमा सिफारिस गर्ने सचिव बरालले बताएका छन्